मन्दिरै मन्दिरको शहरको उपमा पाएको काठमाडौं उपत्यकामा बौद्ध बिहार र बहालको संख्या पनि बाक्लो छ। पछिल्लो समयमा गुम्बा र चैत्यहरु थपिने क्रम जारी रहेकाले बौद्ध धार्मिक गतिविधि फस्टाएको प्रस्ट हुन्छ। तर नयाँ धरोहरहरु थपिँदै जाँदा पुरानाको संरक्षण-सम्बद्र्धन नहुँदा बौद्ध धर्मको उद्गमस्थलकै अपमान भएझैं हुन पुग्दो पनि रहेछ।

उदाहरणका रुपमा रहेको छ- नक्साल चारढुंगेपछाडि अवस्थित भगवान बहाल। उपत्यकाका प्राचीन बौद्ध धरोहरहरुमध्येमा पुरानोको सूचीमा अटाउने बहाल आफ्नो वास्तविक परिचय लगभग मेटिने अवस्थामा पुग्दा नाम मात्रको बनेको छ। जानकारहरुका अनुसार बहाल लिच्छविकालभन्दा अगाडि निर्माण भएको मानिन्छ। ढुंगा र धातुले बनेका भगवान् गौतम बुद्धका मूर्ति धेरै भए पनि यहाँ काठमा कुँदिएको कलात्मक मूर्ति रहेकाले बहालको पृथक र मौलिक पन भेटिन्छ। बेतले बनाइएको मूर्ति भएकाले यहाँको बुद्ध मूर्तिको महत्व झनै बढेको स्थानीयको भनाइ छ। समाजसेवी योगेन्द्र श्रेष्ठका अनुसार बेतको प्रयोग गरी बनाइएको मूर्ति भएकाले दुर्लभ भएको हो। ‘मैले सुने अनुसार बेतले बनाइएको बुद्ध मूर्ति त्यति धेरै छैनन्’ -श्रेष्ठ भन्नुहुन्छ। अर्का थरीको भनाइ छ लिच्छविकालपछि अरि मल्लको समयसँगै काठका मूर्ति बनाउने प्रचलनको विकास भयो। त्यसबेला यहाँको बहालमा काठमा कुँदिएको बुद्ध मूर्ति निर्माण भएको हुन सक्ने अनुमान गरिएको छ।

बिहार शंखकृति महाविहारका रुपमा समेत परिचित छ। यसको ऐतिहासिकतालाई नियाल्दा प्रख्यात बौद्ध विद्धान् अमर बाँडा र शंकराचार्यबीच शास्त्रार्थ भएको सन्दर्भसँग जोडिन्छ। जानकारहरुका अनुसार विद्वान् अमर मात्तृशक्ति पक्षधर थिए भने शंकाराचार्यचाहिँ पित्तृशक्तिका उपासक थिए। यी फरक विचार राख्ने बीच भेट भएपछि व्यापक रुपमा बहस भयो त्यही बहसलाई शास्त्रार्थसमेत भन्ने गरिन्छ। विवादका बेला दुवैका बीच कालो पर्दाले छेकवार लगाइएको थियो। पर्दाले छेकिएको अवसरमा नजिकैकी नीलसरस्वतीको सहयोग लिएर विद्वान् अमरले शास्त्रार्थ गरेका थिए भनिन्छ। सरस्वतीको कृपा बाँडाका पक्ष भएपछि शंकराचार्य शास्त्रार्थमा पराजित हुन पुगे। काठमाडौं र ललितपुरवासीको समर्थन विद्वान् अमरलाई थियो भने भक्तपुरवासीले चाहिँ शंकराचार्यको पक्ष लिएका थिए भन्ने भनाइ छ। पराजित बनेपछि काठमाडौं र ललितपुरवासीले शंकराचार्यलाई बास बस्न समेत दिएका थिएनन् भन्ने किंवदन्ती छ। आफू पराजित बनेपछि आफ्ना समर्थकको साथ र सहयोग लिएर बहालमा बितण्डासमेत मच्चाएका थिए भनिन्छ।

कलात्मक र ऐतिहासिक बुद्ध मूर्ति बहालमा हिजो-आज भेटिन्न। बहाल संरक्षणका लागि बनाइएको पर्खाल भत्किएपछि बहाल असुरक्षित बन्यो। जो कोही पनि जुनसुकै समयमा स्वतन्त्र रुपमा ओहोरदोहोर गर्न मिल्ने गरी पर्खाल भत्किएपछि यहाँका नारायण र बासुकी नागका मूर्ति चोरी भए। कलात्मक बुद्ध मूर्ति पनि सुरक्षित बन्ने कुरै भएन। त्यो समेत चोरी भयो। कमलपोखरी प्रहरीको पहलमा चोर पक्राउ नपरे पनि हराएको मूर्ति बेवारिसे अवस्थामा नक्साल क्षेत्रमै भेटियो। बहाल जीर्ण र असुरक्षित बनेपछि स्थानीयको सुझावका आधारमा सो मूर्ति अहिले पुरातत्व विभागमा पठाइएको छ। तर नारायण र बासुकी नागका मूर्ति भने अहिलेसम्म फेला पर्न सकेका छैनन्।

२०५८ अगाडि बहालपरिसर स्थानीय बासिन्दाको बसोवासको थलोसमेत बन्यो। ७-८ घरपरिवारको बसोवास हुन थालेपछि बहालको नामनिसान झनै ओझेल पर्यो। बहालमा बस्ने स्थानीय नक्साल क्षेत्रकै थिए। कसरी ती परिवार बहालमा बसोबास गर्न थाले भन्ने जिज्ञासामा यहाँका बुद्धिजीवीसमेत अनभिज्ञ छन्। उनीहरुको भनाइ छ- ‘कसरी कसले यहाँ बस्ने अनुमति दियो प्रस्ट हुन सकेन।’ ऐतिहासिक महत्वको बहाल भएकाले तत्कालीन मन्त्री बलबहादुर केसीले त्यहाँ बसोबास गरिरहेका परिवारलाई अन्यत्र स्थानान्तरण गराउन रकम निकासा गरेपछि उनीहरु बसाइँ सरेका थिए। त्यसयता बहालपरिसर खुल्ला छ। तर अव्यवस्थित र जीर्ण।

बहाल कूल २ रोपनी २ आना क्षेत्रफलमा फैलिएको छ। अतिक्रमण कार्य बढेकाले केही वर्षभित्र यो क्षेत्रफल साँघुरो बन्ने सहजै अनुमान गर्न सकिन्छ। यही सम्भावना बढ्दै गएकाले ऐतिहासिक बहालको संरक्षण गर्नुपर्ने खाँचो आँल्याउँदै २०५८-५९ मा भगवान् बहाल संरक्षण समिति गठनसमेत भयो। समितिको अगुवाइमा जीर्ण बनेको बहालको उत्खनन कार्यसमेत भएको थियो। त्यसबेला नवग्रह सिंहको मूर्ति चैत्य प्राचीन इँटाहरु फेला परेका थिए। अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक नन्दराम श्रेष्ठको त्यस लगत्तै आकस्मिक निधन भएकाले समितिले त्यसयता कार्य अगाडि बढाउन सकेन। अहिले समिति निस्क्रिय अवस्थामा रहेको स्वीकार्नुहुन्छ उपाध्यक्ष किशोरकुमार मानन्धर। समितिमा आफू एक्लै रहेकाले काम कारबाही अगाडि बढाउन नसकेको उहाँको भनाइ छ।

अग्रजहरुको समिति निस्क्रिय बनेको ठहर यहाँका युवाले पनि प्रस्ट रुपमा बुझे। त्यसैले गतवर्ष उनीहरुको पहलमा बहालसहित नक्सालआसपासका सम्पूर्ण सम्पदाको अवस्था अद्यावधिक गर्न र संरक्षणमा पहल गर्नका लागि नक्साल साँस्कृतिक संरक्षण गुठी स्थापना भएको छ। स्थापनाको छोटो अवधिमै गुठी निकै सकि्रय रहेको पदाधिकारीको दाबी छ। ‘गुठीले यस क्षेत्रका मठमन्दिरको अवस्था अध्ययन गरेर तस्विरसमेत संकलन गरिसकेको छ’ -गुठीका सचिव निरज महर्जन भन्नुहुन्छ। उहाँका अनुसार गत महिना नक्सालमा सम्पन्न भएको १२ र्षे खड्गसिद्धि जात्रा सफल बनाउनमा गुठीको प्रभावकारी भूमिका थियो। ‘जात्रा होला कि नहोला भन्ने अन्योल भइरहेका बेला हामीहरुले जात्रा सफलतापूर्वक सम्पन्न गरायौं’ -महर्जन बताउनुहुन्छ।

गुठी स्थापना भएलगत्तै पदाधिकारीले वडा कार्यालयमा बहालको अवस्था अवगत गराइसकेका छन्। प्राचीन र ऐतिहासिक भएकाले छिट्टै वडा कार्यालयले प्राथमिकताका साथ संरक्षणमा चासो बढाउनु पर्छ भन्ने राय उनीहरुले राखिसकेका छन्। यस विषयमा जिज्ञासा राख्दा वडा कार्यालय सचिव रामप्रसाद सापकोटाले बहाललाई वडाले प्राथमिक सूचीमा राखेको जानकारी दिनुभयो। वडाको मात्र पहिचान दिने सम्पदा नभएकाले महानगरपालिकालाई समेत अवगत गराइसकेको उहाँले बताउनुभयो। सापकोटा भन्नुहुन्छ- ‘पुनः निर्माण गरेर पहिलाको अवस्था ब्यूँत्याउन करोडौं लगानी गर्नुपर्ने अवस्था देखिन्छ। वडाको पहल मात्र प्रभावकारी हुन नसक्ने भएकाले राज्यले नै बहाल पुनः निर्माणमा ध्यान दिन जरुरी छ।’ प्राचीन बहाल तत्कालै पुनःनिर्माण असम्भव भए पनि संरक्षण गुठीले तत्काल मर्मत सम्भार गर्न सकिने चैत्यहरुलाई रङरोगन गर्ने कार्य गरेको छ। १२वर्षे खड्गसिद्धि जात्रापूर्व गुठीले रङरोगन गरेको थियो। जात्राको ऐतिहासिक पक्षसँग बहालको साइनो जोडिएको छ। यहाँका अग्रजहरुका अनुसार बहालका पुजारीले समेत खड्गसिद्धि जात्राका अवसरमा पूजा दिने चलन थियो। तर बहालमा हाल पुजारी नभएकाले त्यो परम्परा हटिसकेको छ। त्यही चलन स्मरण गराउन रंग लगाइएको थियो। अहिले गुठीका पदाधिकारी बहालको महत्वका बारेमा थप प्रचारप्रसार गर्नुपर्ने खाँचो औल्याउँछन्। सोही आधारले यही बुद्ध पूर्णिमाअगावै विशेष कार्यक्रम गर्न लागिएको गुठीका सदस्य काजीभाइ महर्जनले जानकारी गराउनुभयो। विशिष्ट भिक्षुहरुको उपस्तिथिमा बहालको महत्व बुझाउन खोजिएको उहाँले बताउनुभयो।


via:- Nepal Samacharpatra